नियम ३९
कर कट्टी गर्न पाइने
(१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा संकलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउनेछः–
(क) कर कट्टी दावी गरिएको वस्तु वा सेवा कर योग्य व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा ।
(ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बिजक प्राप्त गरेको भएमा ।
(ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरू भएमा ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “आयातसम्बन्धी कागजातहरू” भन्नाले प्रज्ञापनपत्र, नगदी रसीद, सामानको बिजक तथा भन्सारको बाटो भई आयत नहुने सेवाको आपूर्तिको हकमा सेवाको विजक र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरू सम्झन पर्छ ।
(२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाइनेछ । यसरी कर कट्टी गर्दा दाबी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बिजक वा आयातसँग सम्बन्धित कागजातहरू हुनु पर्नेछ ।
(३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा संकलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाइ बाँकी रहेको रकम कर विवरणसाथ कर कार्यालयमा दाखिल गर्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर nअवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार चार महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।
(५) दर्ता भएको व्यक्तिले कुनै महिनामा बिक्री गरेको कूल मासिक बिक्रीको चालीस प्रतिशतभन्दा बढी निर्यात गरेमा सो महिनाका लागि बढी भएको कट्टी गर्नु पर्ने कर फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा निर्यातसँग सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न राखी कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । कर अधिकृतले त्यस्तो दरखास्त प्राप्त गरेपछि नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ । यसरी बाँकी कर फिर्ता दिने निर्णय गर्दा कर अधिकृतले देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः–
(क) खरिद वा आयातमा कर तिरेको छ छैन ।
(ख) पहिले पेश गर्नु पर्ने कर विवरण पेश गरेको छ छैन र पेश गरेको भए त्यस्तो कर विवरणबाट कर फिर्ताको दावी पुष्टि हुन्छ हुँदैन ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू” भन्नाले वस्तु विनिमयको हकमा
निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, प्रतीतपत्र र आयात प्रमाणपत्र र निर्यातको हकमा निर्यात प्रमाणपत्र, सामान
प्राप्त गरेको प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र र प्रतीतपत्र सम्झनुपर्छ ।